Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

आज हरितालिका तीज। हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन हिन्दू नारी तथा छोरी चेलीहरुले निराहार र निर्जला ब्रत बसी हरितालिका तीज मनाउने गर्छन्। तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन आडिलो र पोषक दर खाएर तीजका दिन पानी समेत नपिइकन अविवाहित महिलाहरुले भगवान् शिव जस्तै योग्य वर प्राप्त गर्न सकुँ भन्दै भगवान् शिवको व्रत-आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुख शान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत बस्दै नाचगान र रमाइलो गर्ने चलन छ।

हरितालिका तीजको पौराणिक सम्बन्ध:

हरितालिका तीज पनि शिव पुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ। परापूर्व कालमा पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन्। तर हिमालय पुत्री पार्वतीले तपस्या गरिन् यद्यपि तपको विधि र तालिका नमिलेर वर्षदिन पुग्दासमेत तपस्या सफल हुन नसकेपछि हरिको सल्लाहअनुसार पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार र निर्जल ब्रत बसिन्। यसरी पार्वती निराहार व्रत बसेपछि शिवजी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ। यसरी पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरितालिका रहन गएको हो। उक्त दिन भाद्र शुक्ल तृतिया परेको थियो।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दूनारीहरुले यस दिनलाई 'हरितालिका तीज' चाडको रुपमा मनाउन थालेको जनविश्वास रहिआएको छ। त्यसैले परम्परागत रूपमा हिन्दू गोर्खा विवाहित नारीहरुले पनि तीजमा आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन्। विशेषतः यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन्।

यता, तीजमा विवाहिता नारीहरुलाई आफ्ना दाजुभाईले माइतीघर ल्याउने गर्छन्। यसरी माइतीघरमा आएका विवाहित नारीहरुले हरितालिका तीजको दिन दिनभरी कठोर व्रत बसेर साँझमा भगवान शिवको आराधना गरेर गीत तथा रमाइलो नाचगान गर्ने चलन रहेको छ। घरमा महिलाले भोगेका दुख दिदी बहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन पनि रहेको छ। यसरी छर-छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन्। जन्मघर र आफ्ना आमा बुबा, दाजु भाई, दिदी बहिनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन्।

सम्पूर्ण हिन्दु तथा गोर्खा नारीहरुलाई रमाइलो हरितालिका तीजको मंगलमय शुभकामना!

Post a Comment

Previous Post Next Post