Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

काग तिहार | कुकुर तिहार | नरक चतुर्दशी

काग तिहार | कुकुर तिहार | नरक चतुर्दशी

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु तथा नेपाली भाषी गोर्खा समूदायले बडादशैं लगत्तै मनाउने जातीय चाँड हो- तिहार। गोर्खाहरुले तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म धुमधाम र  हर्षोल्लासका साथ पाँच दिन मनाउने गर्दछन्। जस्लाई 'यमपञ्चक' पनि भनिन्छ। यस यमपञ्चकको पहिलो दिनलाई 'काग तिहार' भनिन्छ। काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ। यसवर्ष भने काग तिहारकै दिन नर्क चर्तुदशी परेको छ। अर्थात् आज काग तिहारकै दिन त्रयोदशी र चर्तुदशीको तिथि परेको हो र चर्तुदशी पनि परेकाले बि.सं. २०७८ को तिहारमा काग र कुकुर तिहार एकैदिन परेको हो।
काग तिहार-
आज काग तिहार। काग तिहारमा चाँही कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ। काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ। काग अर्थात् सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ।

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ। धर्मशास्त्रहरू अनुसार, नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन्। तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ। काग एउटा बाठो पन्छी हो र यसले हाम्रो बालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्रालाई खाइदिएर अन्न उत्पादनमा र मांशजन्य फोहरहरू खाइदिएर सरसफाइमा सहयोग पनि गर्दछ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। काग तिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ। काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ।
कुकुर तिहार-
आजकै दिन कुकुर तिहार पनि परेको छ। मानव सभ्यताको हरेक प्रचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित कुकुरप्रति समर्पित यस कुकुर तिहारमा विधिवत रूपमा कुकुरलाई पूजिने गरिन्छ।

वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ। कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ।

ऋगवेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ। वैदिक सनातन हिन्दू परम्परा अनुसार, कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षकोद्वारमा कुकुरले नै पहरा दिएको कथन रहिअाएको छ।

महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ। कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनिधिका रुपमा लिइन्छ। तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ।

यी त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा 'लाईका' नामक कुकर पुगेको हो। त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको 'हाछिको' नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र 'हाछिको' आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन्।

आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो। आजको दिन कुकुरलाई विधिवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुति छ। मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ। आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ। यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो।

आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ। यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ। 

अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ।

माया दिउ, माया बाँडाैं अनि माया पाउ, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधूर सम्बन्धको यो यात्रा जूगाै जूग चलिरहोस्। सबैमा शुभकामना!

साभार- हाम्रो पात्रो।

Post a Comment

Previous Post Next Post