तुलसी विवाह विधि र विशेषता
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः।
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये।।
कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेषगरी विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाहको उत्सव मनाइन्छ। सनातन धर्म अनुसार, आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ।
भगवान विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको विश्वास गरिन्छ। यही दिन तुलसीको विवाह विष्णु भगवानसँग भएको मानिन्छ। अनि शालिग्राम वा पिपलसँग तुलसीको विवाह भगवान विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह मानिन्छ।
यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र भगवान विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ। तुलसी विवाहको लागि तुलसीको मठ या गमलामा गेरु वा रङ्ग आदिले रंगरोगन गरेर सजाइने गरिन्छ। अनि चारैतिरबाट ऊखु, साल, बाँस या नियालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्नु पर्दछ।
दियो, कलश, गणेशसहित सबै देवी–देवताहरुको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्नु पर्दछ र आजकै दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरि प्रसाद स्वरुप न्वागी खाने प्रचलन पनि रहेको छ।
पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ। तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दिप, नैवेद्य, ऋतुफल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन रहेको छ।
त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ। एउटा नरिवल, दक्षिणासहित भगवान शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्दछ। तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ।
आजको दिन भगवान विष्णुको भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ। यसरी गरिएको पूजा एवं आराधनाबाट हामीलाई सुख, समृद्धि र सबै प्रकरको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
साभार- पं. नारायण प्रसाद दुलाल।
Post a Comment