दार्जिलिङ, ०७ अगस्त: भाजपाले आफ्नो सङ्कल्प पत्रमा वाचा गरेको स्थायी राजनीतिक समाधानको लागि आगामी सेप्टेम्बर महिनाको पहिलो सातामा त्रिपक्षीय वार्ता डाकिने केन्द्रीय गृहमन्त्री अमित शाहले आश्वासन दिएका छन्।
शुक्रबार दार्जिलिङका सांसद राजु बिष्ट, भाजपा दार्जिलिङ जिल्लाका अध्यक्ष कल्याण देवान, दार्जिलिङका विधायक नीरज जिम्बा, खरसाङका विधायक बी.पी. बजगाईं, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ र क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आर.बी राई सामेल रहेको टोलीलाई केन्द्रीय गुहमन्त्री अमित शाहले त्रिपक्षीय वार्ता बोलाउने आश्वासन दिएका हुन्।
केन्द्रीय गृहमन्त्री अमित शाहको बोलावटमा सांसद राजु विष्टको अगुवाईमा गएको टोलीे र केन्द्रीय गृहमन्त्रीमाझ लगभग ३० मिनेट लामो बैठक सम्पन्न भएको थियो भने उक्त टोलीले भाजपाले आफ्नो सङ्कल्प पत्रमा गरेको वाचालाई पूरा गर्न शीघ्र वार्ता गरिनुपर्ने माग गरेको थियो।
उक्त टोलीले केन्द्रीय गृहमन्त्रीलाई गोर्खाहरूको मुद्दाहरू साथै भाजपाले गरेका वचनबद्धता बारे स्मरण गराउँदा केन्द्रीय गृहमन्त्री शाहले आफू सम्पूर्ण विषयलाई लिएर पूर्णरूपले अवगत रहेको बताउँदै आगामी सेप्टेम्बर महिनाको पहिलो सातादेखि दार्जिलिङ पहाड, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधानको लागि आधिकारिक त्रिपक्षीय वार्ता शुरू हुने आश्वासन दिएका छन्। साथै आउँदो एक साताभित्र गृह मन्त्रालयले वार्ताका लागि आधिकारिक वार्ता पठाउने पनि केन्द्रीय गृहमन्त्रीले आश्वासन दिएको सांसद विष्टले जानकारी गराए।
उल्लेखनीय छ, यसपटक त्रिपक्षीय वार्ताको पत्र गृह मन्त्रालयले आधिकारिक पठाउने, वार्ताको रेकर्ड राखिने तथा पीआईबीमा प्रेस नोट समेत जारी गरिने बताइएको छ।
Post a Comment