Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भाषा सेनानी तारापति उपाध्यायको जीवन अध्ययन

तारापति उपाध्याय असम राज्यको तदानीन्तन दरङ तथा वर्तमान शोणितपुर जिल्लान्तर्गत बाटुले बिल नामक स्थानमा सन् १९३२, जुन १४ तारिखमा जन्म ग्रहण गरेका एक असाधारण प्रतिभासम्पन्न व्यक्तित्व हुन्। समाज, साहित्य, शिक्षामा उनले पाएको सफलता चुलीमा छ। भारतीय नेपाली समाजको उत्थानमा उनी जत्तिको मरिमेट्ने व्यक्ति अर्को पाउन सारै छ। जीवनको प्रारम्भकालबाट नै उनी समाज, साहित्य र शिक्षामा लागिपरेका व्यक्तित्व हुन्। उनका पिताको नाम नन्दलाल उपाध्याय हो भने माताको नाम तुलसा देवी उपाध्याय हो। उनी नन्दलालका पुत्र सन्तानमध्ये तेस्रो हुन्।
 उनको प्राथमिक शिक्षा-दीक्षा घरमै कुनै एकजना पुरोहितको तत्वावधानमा गोहालीमा भएको हो। उनले पहिलो पर्यायमा देवनागरी अ, आ, क, ख र १, २, ३ आदि गर्दै अमरकोष तथा संस्कृत ग्रन्थ घोक्तै शिक्षा प्रारम्भ गरेका थिए। पछि असमियाभाषी शिक्षक खोजिल्याएर उनले बाटुले बिल टापुमै प्राइभेट रूपमा असमिया माध्यमको शिक्षा ग्रहण गरेका हुन्। 
 १९४४ सन्को दिसेम्बर महिनामा तेजपुर आएर 'तेजपुर अकादमी हाइस्कुल’मा तृतीय कक्षाको वार्षिक जाँचमा बसेर उत्तीर्ण हुँदै चौथो कक्षामा प्रवेश पाए र त्यहाँबाट लगभग दुई माइल पर रहेको विष्णु मन्दिरमा बसेर तारापति उपाध्याय दत्तचित्तले अध्ययनमा लागे। 
 १९४५ सन्मा द्वितीय विश्वयुद्ध समाप्त भएपछि र स्वाधीन भारतको सपना साकार हुन लागेको देखेर मानिसहरू उत्साहित भए अनि स्वाधीनता आन्दोलनमा अझ तीव्रता ल्याए। परिणाममा तेजपुरलाई केन्द्र मानेर १९४६ सन्मा 'तेजपुर गोर्खा छात्र सङ्घ’ले जन्म लियो। त्यस समयका तेजपुर हाई स्कुलका सबै छात्रहरू उक्त संस्थाको सदस्य हुँदा तारापति उपाध्याय पनि त्यो संस्थाका सदस्य भए। मोतीलाल छेत्री यसका सभापति थिए भने मोहन भट्टराई सचिव थिए। 'तेजपुर गोर्खा छात्र सङ्घ’ले प्रभात नामको मुख पत्र पनि प्रकाश गर्न थाल्यो र प्रत्येक आइतबार जहाजघाटमा रहेको संस्थाको कार्यालयमा स्वरचित कविता पाठको आयोजन गर्न थाल्यो। कविता पाठमा तारापति उपाध्यायको अंश ग्रहण हुनथाल्यो, हुन्थ्यो।
 १५ अगस्त, १९४७ मा देश स्वाधीन भयो। महिना दिनसम्म देश स्वाधीन भएको उत्सव देशभरि पालन गरियो। तेजपुरमा पालन गरिएको उत्सवमा- गोपीनाथ बरदलै, विष्णुराम मेधी, आचार्य कृपालनी, पं. जबाहरलाल नेहरू आदि देशका अग्रणी नेतृत्वहरूलाई उनले नजिकबाट देख्न र सुन्न पाएका हुन्।
सन् १९५१ का प्रारम्भमा तारापति उपाध्याय नवौँ कक्षाबाट दसौँ कक्षामा उत्तीर्ण भए। उनमा कलेज पढ्ने सपना पलाउन थालेको मात्र थियो तर ईश्वरेच्छा अर्कै रहेछ। उनलाई ठुलै रोगले च्याप्यो। त्यसबेला रोग जाँच्ने साधन असममा पनि थिएनन्। गुवाहाटीको एउटा मिसनेरी अस्पतालमा भर्खरै कलकत्ताबाट ल्याएको X-ray मसिनमा X-ray गर्दा फोक्सामा दुला परेको देखियो। खोकी दिनदिनै बढेर गयो। उपचारका विषयमा जानकारी लिँदा S. B. Dey Sanatoriuam Kursiang पुग्नु बाहेक अर्को उपाय नदेख्ता उनी खसर्सङ पुगेर लगभग एक वर्ष जति त्यहाँ उपचार गरी १९५१ सन्का अन्ततिर घर फर्किए। यसपछि १९५२ का माझतिर अध्ययनका लागि सिलङ गएर सेते राणाजी (गोर्खा लीगका सभापति) का घरमा बसी त्यहाँ रहेको एकमात्र सरकारी हाई स्कुलमा भर्ना भई प्राइभेट हिसाबले परीक्षा दिई १९५३ सन्मा गुवाहाटी विश्वविद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण भए। सेते राणा उपाध्यायलाई पुत्र झैँ स्नेह गर्दथे। प्रवेशिका उत्तीर्ण भएपछि उनी रोग जँचाउन फेरि दार्जिलिङ गएर उतैको महाविद्यालयमा पढ्न थाले तर एम. आई. एल. विषयलाई लिएर सङ्कट खडा भयो। 'नेपाली हुँ, नेपाली पढ्न सक्छु’ भन्दा मात्र उनले धर पाएनन्। महाविद्यलयका अध्यक्षले तुलसीबहादुर छेत्रीलाई २० अङ्कको प्रश्नपत्र तयार गरी आधा घन्टा समयको जाँच लिन अह्राए। उनले २० मा आठ अङ्क प्राप्त गरेर एम. आई. एल. नेपाली लिने अनुमति प्राप्त गरे। 

उनले दार्जिलिङको सरकारी कलेजमा १९५७ सन्सम्म मात्र पढ्ने मौका पाए। बी. ए.को अन्तिम वर्षको जाँच दिन सकेनन्। त्यस बेला घरको अवस्था सारै बिग्रिन लागेको हुनाले दाजुहरूले पैसा पठाउन सकेनन्। उनी बी. ए. तृतीय वर्षको जाँच नदिई घर फर्के तर दार्जिलिङको बसाइ र पढाइले भने उनलाई धेरै लाभ गऱ्यो। दार्जिलिङमा भएको 'गोर्खा दुख निवारक सभा गृह’मा अनुष्ठित हुने नाटक, तर्क प्रतियोगितामा अंश ग्रहण गर्ने  तथा भारत-नेपालका विद्वान्, जस्तै- धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माया देवी, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, अगमसिंह गिरी आदिलाई भेट्ने अनि उनीहरूका भाषण सुन्ने मौका पाएका थिए।
 सन् १९५८ मा उनी ओदालगुडीका प्रतिष्ठित समाजसेवी, व्यवसायी र तेजपुर हाइ स्कुलमा पढ्दाका मित्र (उमेरमा केही जेठा) चन्द्रमोहन छेत्रीको आश्रयमा ओदालगुडी आए। पछि सन् १९५९ को प्रारम्भमा मेघालय, तुरा निवासी देवीदत्त उपाध्यायकी सुपुत्री किरणबाला देवीसँग उपाध्यायको शुभ परिणय भयो। उनले यसै वर्ष कलकत्ता पुगेर बी.ए. अन्तिम वर्षको जाँच पनि दिए र उत्तीर्ण भए। १९६० सन्को अन्ततिरबाट ओदालगुडी हाई स्कुलमा सहायक शिक्षकको पदमा नियुक्त भई स्थायी रूपमा शिक्षकता जीवन प्रारम्भ गरे।

 १९६४ सन्मा उनलाई पुन: टी. बी. रोगले सतायो। घरमा ससाना दुई छोरी र पत्नी छोडेर तेजपुर मिसन अस्पतालमा चार महिनासम्म उपचार गरेर आरोग्य लाभ गरे।

१९७१ सन्मा डिब्रुगढ विश्वविद्यालयको अधीनमा जोरहाट शिक्षण प्रशिक्षण महाविद्यायबाट बी.टी. उपाधि प्राप्त गरे अनि १९७३ सन्मा गुवाहाटी विश्वविद्यालयबाट राजनीति विज्ञान विषयमा एम. ए. उपाधि प्राप्त गरे।

 गुरुजी शब्द नै बन्यो जसको विभूषण
 तारापति उपाध्याय जनमानसमा 'गुरुजी’ सम्बोधनले प्रिय भए। यद्यपि उनलाई गुरुजी किन भनियो भन्ने तर्कमा कुनै ठोस तथ्य नपाए तापनि उनी 'गुरुजी’ सम्बोधनले सम्मानित छन्। सायद, असमका नेपालीहरूले उनलाई दिनुपर्ने सम्मानमा 'गुरुजी’भन्दा सम्मान्य शब्द अर्को पाएनन्। त्यसैले उनी गुरुजी भएरै आदरणीय बनिरहने छन्।

 तारापति उपाध्यायको शैक्षिक योगदान
 शिक्षा समाप्त नभई दार्जिलिङबाट घर फर्केका उपाध्याय १९५७ देखि १९५८ सम्म स्वाधीनता सेनानी प्रजापति रिजालले स्थापना गरेको र त्यस बेला दुर्वाशा उपाध्यायले प्रधान शिक्षकको दायित्व सम्हालेका तथा तेलियागाउँमा रहेको हाई स्कुल निर्माण र शिक्षादानको कार्यमा खट्न थाले। स्कुल निर्माण गर्ने कार्यमा उनीहरू गाउँ गाउँ गएर चन्दा, बाँस, खर आदिको सङ्ग्रह पनि गर्न थाले। त्यहाँ स्कुल नभएका गाउँमा गएर स्कुल खोल्ने, प्रौढ शिक्षा केन्द्रहरूको सञ्चालन, छात्र सङ्घको अधिवेशन, भानुजयन्ती, नाटकजस्ता अनेक कार्यहरूमा उपाध्यायको सक्रिय सहयोग रहेका थियो। उनको यो समयलाई पुष्पधर शर्माले -''उहाँको शिक्षक तथा सामाजिक जीवनको परीक्षण काल (probation period) भन्दा पनि अत्युक्ति नहोला’’ भनेका छन्। 
 तर, तेलियागाउँले उनलाई धेरै दिनसम्म बाँधेर राख्न सकेन। उनी १९५८ सन्को माझबाट ओदालगुडी आएर उमेरमा जेठा भएकाले दाजु मानेका चन्द्रमोहन छेत्रीज्यूको आश्रयमा अहिलेको 'विश्वशान्ति नेपाली विद्या मन्दिर’कै सम्मुखमा रहेका औषधि पसल भए ठाउँमा बस्न थाले र उक्त मन्दिरको निर्माण तथा शैक्षिक कार्यमा लागे। यो मन्दिर ओदालगुडीका उद्यमी नेपाली नागरिकहरूले १९५४ सन्मा विश्वशान्तिका निम्ति ठुलो यज्ञ गरी त्यहाँ विष्णु मन्दिरको जग बसालेका थिए। सामाजिक र कर्मठ मन भएका गुरुवर तारापति उपाध्यायले त्यही मन्दिर निर्माणको कार्यमा तारानिधि ढकाल, जयभद्र अधिकारी आदिलाई सहयोगीको रूपमा लिएर माजबाटदेखि डिमाकोशीसम्म मुष्टिदानको नियम चालु गरे। मुष्टिदान सङ्ग्रहको मुख्य उद्देश्य थियो, विश्वशान्ति मन्दिर परिसरमा नेपाली विषय सहितको अङ्ग्रेजी माध्यमको स्कुल प्रतिष्ठा गर्नु र चलाउनु। कटन कलेजमा अध्ययन गर्ने नेपालका एक जना विद्यार्थीले यो विद्यालयमा पढाउने कार्यमा तीन महिनासम्म साथ दिए र घर गएका फर्किएर आएनन्। यसै बेला अर्थात् १९५९ बाट 'मुष्टिदान’ पत्रिका पनि गुरुजीले सम्पादन गरेको थाहा लागेको छ। अध्ययन र अध्यापन गर्नेहरूको अभावमा विद्यालय दिगो भएन।

तारापति उपाध्यायको स्थायी शिक्षकता सन् १९५९ मा ओदालगुडी उच्च माध्यमिक विद्यालयका तदानीन्तन विद्यालय परिचालना समितिका सभापति बहादुर बसुमतारीको अनुरोधमा उनी उक्त विद्यालयको सहकारी शिक्षकको पदमा नियुक्त भए मात्र महिनावारी १५ रुपियाँ तलबमा। वर्ष दिन नपुग्दै १९६० सन्मा विद्यालय सरकारीकरण भयो र उनको मासिक बेतन रु. ६० भयो। यही ओदालगुडी उच्च माध्यमिक विद्यालय १९७७ सन्मा उच्चतर माध्यमिक विद्यालयमा उन्नीत भयो र उनी पनि राजनीति विज्ञान विषयको विषय शिक्षक भए अनि सन् १९८५ देखि १९८९ सम्म उपाध्यक्ष र सन् १९९० देखि १९९२ सम्म अध्यक्षको पदमा रही सेवानिवृत्त भए।
 ओदालगुडी उच्चतर माध्यमिक विद्यालयबाट सेवानिवृत्त भएपछि १९९९ सन्बाट प्रारम्भ गरिएको ओदालगुडी शिक्षक प्रशिक्षण महाविद्यालयको अध्यक्ष पदमा २०१४ सम्म रहेर शैक्षिक वृत्ति नै समाएको देखियो। उनले ओदालगुडी उच्चतर माध्यमिक विद्यालयमा शिक्षकता गरिरहेकै बेला सन् १९६३ तिर गोल्मागाउँ मध्य अङ्ग्रेजी विद्यालय स्थापन गरी सचिवको दायित्व पालन गरे भने खौराङ्ग उच्च माध्यमिक विद्यालयको स्थापना सहितै स्वीकृति (Recognize) सम्मको यात्रापथमा साथ दिए।

तारापति उपाध्यायको सामाजिक योगदान तारापति उपाध्यायको सामाजिक जीवन तेजपुर हाई स्कुल पढ्दादेखि नै आरम्भ भएको हो। उनी तेजपुरमा १९४६ सन्मा गठन भएको 'तेजपुर गोर्खा छात्र सङ्घ’को सदस्य थिए। तेजपुरमा पढ्दै गर्दा जहाजबाट विश्वनाथ, कठेनीबारी हुँदै काजिरङ्गा पुगी त्यहाँ वन्यपशुहरू हेर्दै नेपालीका गोठहरू डुली फर्किँदा बिहाली माजगाउँ पुगेर छविलाल उपाध्याय र हरिप्रसाद उपाध्यायको दर्शन पनि गर्ने गर्दथे। तेजपुर छात्र सङ्घ १९५२ सन्मा 'दरङ  गोर्खा छात्र सङ्घ’ नामले विस्तारित भयो र उनी पनि यो संस्थाका सदस्य रहे। पछि भने उपाध्याय अध्ययनमा दत्तचित्तले लागेका देखिन्छन् अनि यसै कालमा उनले रोगसँग पनि जुध्नु पर्ने अवस्था आइलागेको हो।

दुई दिने कार्यसूची लिएर 'दरङ नेपाली छात्र सङ्घ’को अधिवेशन गोल्मागाउँ मध्य अङ्ग्रेजी विद्यालय प्राङ्गणमा अनुष्ठित हुँदा स्वागतकारिणी समितिको सचिव पदमा तारापति उपाध्याय रहेका थिए भने सभापतिको पदमा थिए चन्द्रमोहन कार्की छेत्री। यो अधिवेशनमा 'असम नेपाली साहित्य सम्मेलन’ नामको एउटा संस्था भूमिष्ठ भयो। यो संस्थाको संयुक्त सचिवमा तारापति उपाध्याय र दुर्वाशा उपाध्याय रहेका थिए। यो संस्थाले नेपाली छात्र-छात्रा बहुल विद्यालयहरूमा नेपाली रूढ्ढरु पठन-पाठनको काम सुरु गऱ्यो र भारतीय संविधानमा नेपाली भाषा गाभ्ने आन्दोलन पनि तीव्र पारेको थियो। भाषाको संवैधानिक मागको पहिलो स्मारक पत्र 'जाग्रत गोर्खा’का सम्पादक आनन्दसिंह थापाका नेतृत्वमा १८ जनवरी १९५६ मा तदानीन्तन राष्ट्रपति डा. राजेन्द्रप्रसादलाई चढाएको थियो। पछि १९७१ सन्को मार्च महिनामा रतनलाल ब्राह्मणले संसदमा नेपालीमा शपथ गरे। उनको यस्तो कार्यमा देशभरका नेपाली भाषीहरूमा उत्साह थपियो।

सन् १९७२ मा दार्जिलिङमा 'अखिल भारतीय नेपाली भाषा समिति’को गठन भयो। १९७२ सन्मा असम गोर्खा सम्मेलनको अधिवेशनमा आएका 'अखिल भारतीय नेपाली भाषा समिति’का मूल सचिव प्रेमकुमार आलेको भाषण सुनेर तारापति उपध्याय उत्साहित भएका थिए र ओदालगुडी आएर 'मङ्गलदै नेपाली भाषा समिति’ गठन गर्दछन्। यो समितिको मूल सचिव पनि तारापति नै चुनिएका थिए। यो समितिले माजबाटदेखि भोलाझारसम्म शाखाहरू विस्तार गऱ्यो र नेपाली MIL पठन-पाठनको शङ्ख घोष गऱ्यो। यसै बेला सन् १९७३ मा ओदालगुडी हाई स्कुलको मैदानमा उत्तरपूर्वी कङ्ग्रेसको अभिवर्तन हुनेभयो। यो संस्थाले भाषा माग र MIL पठन-पाठनको माग राखेर सभामा मानिसहरूलाई नजान अनुरोध गऱ्यो। यो कार्य तारापति उपाध्यायको नेतृत्वमा सम्पन्न भएको थियो। सभा सफल तुल्याउन हप्तादिन अघिबाटै आएर बसेका तदानीन्तन मुख्यमन्त्री शरद्चन्द्रसिंहले तारापति उपाध्यायआदिलाई बोलाएर सम्झौता गरेपछि मात्र हाम्रा मानिसहरूले त्यो सभामा अंशग्रहण गरेका थिए।

सन् १९७४ फेब्रुअरी, १६ र १७ तारिखमा डिब्रुगढ सहरमा 'अखिल भारतीय नेपाली भाषा समिति’को जरुरी बैठक बसेको थियो। त्यहाँ 'पूर्वाञ्चल नेपाली भाषा समिति’ गठन भयो। यो समितिको सचिव पद तारापति उपाध्याय र मनबहादुर छेत्रीलाई दिइयो। त्यतिखेर असममा उग्रजातीयतावादी भाषा आन्दोलन चलिरहेको थियो। यस्तो अवस्थामा 'अखिल भारतीय नेपाली भाषा समिति’को अधिवेशन राख्ने साहस कसैले गरेनन्। त्यो साहस देखाए तारापति उपाध्याय आदि ओदालगुडीका केही सत्साहसी युवाहरूले। फलस्वरूप १९७४ सन्, ३०, ३१ डिसेम्बर र १९७५ जानुवारी १ गरेर तिन दिने कार्यसूची लिएर 'अखिल भारतीय नेपाली भाषा समिति’ को महाधिवेशन ओदालगुडीमा सम्पन्न भयो। जसको स्वागतकारिणी समितिको मूल सचिवका दायित्वमा रहेका थिए तारापति उपाध्याय आफैँ। यो महाधिवेशनपछि तारापति उपाध्याय भाषा सङ्ग्रामीको रूपमा अतुल बलशाली व्यक्तित्व भएर निस्किए। भाषा आन्दोलनका कार्यसूचीहरू एकदेखि अर्को सम्पन्न गर्दै गए। पछि फर्किएर हेरेनन्। १९७७ सन्मा भारतको प्रधानमन्त्रीको दायित्वमा थिए मोरारजी देशाई। भाषा समितिको ३९ जनीय दल दिल्ली पुग्यो। त्यसमध्ये १४ जनाले मात्र प्रधानमन्त्रीसँग भेट गर्ने अनुमति पाए। जसमा तारापति उपाध्याय लगायत केही भाषा माग आन्दोलनकारीहरूले प्रधानमन्त्रीसँग भेट गरेर स्मारक पत्र अर्पण गरेका मात्र थिए, उनले तातो तेलमा पानी परे झैँ गरे। नेपाली भाषालाई विदेशी भाषा भने। तारापति उपाध्यायको अन्तरमा चोट लाग्यो। उपाध्यायहरूले आफ्ना तर्कहरू पेस गरे र खल्लोपन लिएर घर फर्किए। यो दलमा असमका १५ जना सदस्य थिए।
 सन् १९८६ बाट 'अखिल भारतीय नेपाली भाषा समिति, असम राज्य शाखा’को सभापति चुनिए तारापति उपाध्याय। १९८७ सन्मा उनी यसै संस्थाका केन्द्रीय समितिको उपसभापति पनि चुनिए। १९९० जुन, ११ र १२ मितिमा 'सिक्किम साहित्य परिषद’ले नेपाली भाषाको राष्ट्रिय अभिवत्र्तन बोलायो। त्यो अभिवत्र्तन जम्मा तीन वटा सत्रमा विभाजित थियो। दोस्रो सत्रको सभापतित्व तारापति उपाध्यायले गरेका थिए। त्यहीँ 'भारतीय नेपाली राष्ट्रिय परिषद’को जन्म भएको थियो भने यसको पनि सक्रिय कार्यकारिणी सदस्य बने तारापति उपाध्याय। सन् १९९२ अगस्त २० को दिन भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले स्थान पाएपछि भाषा समिति १९९३ सन्मा भङ्ग भयो। उनले सन् १९८६ बाट १९९३ सम्म नै उक्त संस्थाको सभापति पदमा रहेर कार्यभार सम्हाले।
उनी 'असम जन सङ्ग्राम परिषद’को सभापति भएको बेला उनकै नेतृत्वमा असमको ट्राइबेल बेल्ट एन्ड ब्लक्समा नेपालीहरूलाई पुन: सुरक्षित श्रेणीमा बहाली गरिएको हो। यो सन् १९९६ को कुरा हो। 
 ओदालगुडी बाथौ धर्म मन्दिरका लागि उपाध्यायले एक बिघा जमिन पनि दान गरेको कुरा यहीँ उल्लेख गरी राखौँ।
यस बाहेक तारापति उपाध्याय संलग्न रहेका संस्था र पदवीहरू निम्न प्रकारका छन्-
१.  नेपाली संस्कृति सुरक्षा परिषद् - प्रतिष्ठापक सभापति (२००९)
२.  असम साहित्य सभा, ओदालगुडी जिल्ला शाखा (१९७२ देखि १९७९ सम्म, कार्यकारी सभापति र सभापति)।
३.  नेपाली एम. आई. एल. प्रवर्तन समिति (सचिव - १९७८)।

तारापति उपाध्यायको साहित्यिक योगदान तारापति उपाध्यायको साहित्यिकयात्रा दार्जिलिङ  बस्दादेखि भएको थाहा लागेको छ। उनको कालिम्पोङबाट प्रकाशित भएको 'गोर्खा’मा 'त्यो त्यस्तै हो’ नामक पहिलो लेख १९५४ सन्मा प्रकाशित भएको थियो। यसपछि उनको दोस्रो लेख 'दरङ नेपाली छात्र सङ्घ’को 'प्रभात’ मुखपत्रको पहिलो अङ्क (१९५५) मा 'बढ्यो कि सड्यो’ नामको कविता प्रकाशित भएपछि 'असम साहित्य सभा’को आह्वानमा संयुक्त लेखकको रूपमा 'नवमी’ नामक लोककथा सङ्कलन असमियामा प्रकाशित भएपछि उनी फुटकर रचनाहरूमै थुप्रै वर्षसम्म सीमित रहे। सन् २००१ देखि तारापति उपाध्यायले पुन: साहित्य यात्रा सुरु गरेर एक पछि अर्को गर्दै क्रमश: वर्तमान (२०२१) सम्म नै निरन्तर गहन विषयका मौलिक र अनुवादका पुस्तकहरू नेपाली र असमिया भाषामा प्रकाशित गरी रहेका छन्। बङि्कमचन्द्र चट्टोपाध्यायको 'आनन्द मठ’ नेपालीमा अनुवाद गरेर उनले २०१० सन्मा 'साहित्य अकादमी अनुवाद’ पुरस्कार प्राप्त गरेका हुन्, अनि सन् २००४ बाट असम सरकारको साहित्यिक पेन्सनर पनि हुन्।
ओदालगुडीका केही गुणग्राही व्यक्तिहरूको उद्योगमा 'भाषा सेनानी तारापति उपाध्याय : व्यक्तित्व र कृतित्व’ नामक अभिनन्दन ग्रन्थ पनि २०२०, नोभेम्बरमा प्रकाशित भएको छ।

तारापति उपाध्यायका प्रकाशित कृतिहरू:
१.  नवमी (संयुक्त लेखन-लोककथा सङ्कलन) असमिया १९७७
२. भाषा प्रदीप-२००१
३. दश महारथी-२००१
४. निबन्ध गुच्छ-२००२
५. साधारण नेपाली सामाजिक जीवन-२००२
६. अनुवादको भूमिका, पद्धति र स्थिति-२००३
७. आदर्श नेपाली व्याकरण (संयुक्त लेखन)-२००५
८. असम तथा भारतर नेपाली जाति-एक आलोकपात (असमिया)-२००५
९. केही निबन्ध : केही जीवनी-२००८
१०. आनन्दमठ (बङ्किमचन्द्र रचित) नेपाली अनुवाद-२००६
११. राम एक रामायण अनेक-२००९ (असमियामा)
१२. स्वदेशी चिन्तन साहित्य मन्थन- २०१०
१३. जीवनी-२०११
१४. इच्छा शक्ति (ए.पी.जे अब्दुल कलामको Wings of Fire को नेपाली अनुवाद-२०१४
१५. भारतीय स्वाधीनता सङ्ग्रामी केही वीराङ्गना-२०१५
१६. साहित्य संस्कृति एवं धर्मका आराधिका केही मातृहरू-२०१५
१७. सङ्क्षिप्त महाभारत कथामृत-२०१६
१८. आत्म-कथ्य-२०१७
१९. जीवन सानेकि (असमिया) २०१८
२०. भारतीय भाव चिन्ता (असमिया)-२०१९
२१. नेपाली भाषा उत्पत्ति र विकासको संक्षिप्त इतिहास तथा भाषाभक्त-अटल भण्डारी-२०१९
२२. द्रुपदराज नन्दिनी द्रौपदी (असमिया) - २०२०

पुरस्कारहरू:
१. 'भाषा सेनानी’- भारतीय नेपाली राष्ट्रिय परिषद् र सिक्किम साहित्य परिषद्द्वारा - १९९३ सन्।
२. 'भाषा सङ्ग्रामी’-अखिल भारतीय नेपाली भाषा समिति, देहरादुनद्वारा  १९९३
३. 'साहित्यिक पेन्सन’ - असम सरकारद्वारा - २००४ सन्बाट
४. 'साहित्य अकादमी पुरस्कार’ -अनुवाद (आनन्दमठ) - २०१० सन्।
५. अनेसास 'असम नेपाली साहित्य सभा’ पुरस्कार - २००८ सन्।
६. पुरस्कृत - नेपाली साहित्य परिषद्, असमद्वारा।

सम्मान:
१. नेपाली साहित्य परिषद्, असम
२. असम नेपाली साहित्य सभा
३. एन. डी. एफ. बी. (प्रो.)
४. कल्याण आश्रम
५. अखिल असम गोर्खा छात्र सङ्घ   
६. असम छात्र संस्थाद्वारा
७. नेपाली संस्कृति सुरक्षा परिषद्, असमद्वारा, आदि।

सम्पादन:
१. सम्पादन : मुष्टिदान - १९५९, च्याँखेँ - १९७४ र पखेँटा - १९९०।

                                        ***
-लक्ष्मण अधिकारी
   ओदालगुडी

Post a Comment

Previous Post Next Post