Kaanchi Multimedia
Weddings • Albums • Modeling • Birthdays
Weddings • Albums • Modeling • Birthdays
न्युज डेक्स, १० मई,२०२१:"जुन जोगी आएपनि कानै चिरेको?" यो उखान गोर्खा जन समाजमा निकै प्रचलित छ। गोर्खा समाजमा प्रचलित यो उखानले अवश्य कुनै पनि कान चिरेको जोगीलाई अपमान गर्न खोजेको भने पटक्कै होइन। विशेषतः राजनैतिक दलका नेताले जनतालाई पटक पटक ढाटेपछि उक्त उखान गोर्खा जन समाजमा अझ बढी प्रचलनमा रहेको सुन्न पाइन्छ।
असमका गोर्खाहरुको लागि वर्तमान असमको राजनीतिमा यो उखानले स्थान पाएको छ। विगत २०१६ सनको असम विधानसभा चुनावमा राज्यमा परिवर्तनको लहर ल्याउने आश्वासन दिदै काँग्रेसलाई उछिनेर भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेपछि गठन भएको भाजपा नेतृत्वको सरकारले भाजपा दलबाट नै दुईजना गोर्खा विधायक रहदा पनि एकजनालाई पनि मन्त्री पद दिएको देखिएन। त्यसपछि यसपाली २०२१ सनको विधानसभा चुनावमा पनि भाजपा नेतृत्वको गठबन्धनले बहुमत हासिल गर्दै सरकार गठन गर्यो। तर भाजपा दलबाट तीनै दुईजना गोर्खा विधायक यसपटक पनि निर्वाचित भएर दिशपुर पुग्न सफल भए तापनि गोर्खा विधायकले मन्त्री पद नपाउनु उक्त उखानकै पुष्टि गराइरहेको छ।
असम विधानसभा चुनावमा भाजपा दलबाट मार्घेरिटा विधानसभा क्षेत्रमा भाष्कर शर्मा र बरसोला विधानसभा क्षेत्रमा गणेश कुमार लिम्बूले बहुमतको साथ दोस्रो पटक निर्वाचित भए तापनि केवल गोर्खा भनेर नै अवहेलित भएका हुन् त? या सामाजिक संस्था र राजनैतिक दलका गोर्खा नेताहरुले देखाएको अति भक्ति र खुट्टा तान्ने प्रवृत्तिले गर्दा आज गोर्खा विधायक मन्त्रीपद पाउनुबाट वञ्चित भएको हुन भन्नु सकिदैन तर एउटा कुरा पनि स्पष्ट छ कि जातिको झण्डा बोक्नेहरुले जातिको स्वाभिमानी छबि शून्य, विकाउ र अडानरहित पारिदिएकोले आज यो गति गोर्खा जनप्रतिनिधिहरुको मात्र हैन समुच्चा जातकै हुँदै छ भन्दा केहि गलत हुदैन होला!
साँचै मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माको मन्त्रीमण्डलमा गोर्खा विधायकले स्थान पाउदैनन् त? गोर्खा विधायकले मन्त्री पद नपाउनुको कारण के के हुन सक्छ-
१) दुबैजना जनप्रतिनिधि गोर्खा जातको विधायक अथवा आफैलाई गोर्खा जातको अभिभावकको रूपमा प्रतिष्ठित गर्न कहिलै सक्षम भएनन्।
२) अति राजनैतिक भक्तको रूपमा आफुलाई राख्ने होड़बाजीले व्यर्थ भए दुबै।
३) गोर्खा संघ-संस्थासँग सम्पर्क नराख्ने मानसिकताले गर्दा आज संस्थाले पनि दवाव दिन सकेको छैन मन्त्रीपद दिनै पर्छ भनि।
४) आफुलाई दायित्वशील र आट भएको नेता प्रमाणित गर्नुमा व्यर्थ।
अर्कातिर, सामाजिक संस्थाको कुरा गर्ने हो भने हालै एउटा कार्यक्रममा आग्सुका सभापति अर्जुन छेत्रीले गरेको घोषणा पछि हालसम्म आग्सुका सभापतिको कुनै प्रकारको प्रतिक्रिया देखिएको छैन।
लक्षणीय कुरा के छ भने अहिले पनि गोर्खा जनता र नेताहरुलाई आश छ १९ जना मध्ये १४ जनाले शपथ लिए अब रहल ५ जनामा सबै आशावादी छन्, तरपनि वर्तमान परिप्रेक्ष्यमा गोर्खा विधायकले चाहिँ मन्त्रीपद पाउने सम्भावना छैन।
अब के पद पाउनेछन् गोर्खा विधायकहरुले? मन्त्री पद नपाए पनि कैबिनेट स्तरको निकाय-निगमहरुको अध्यक्ष बनाउने कुराहरु चाहिँ राजनैतिक महलमा अहिले सम्म नचलेको होइन। तर कस्लाई दिन्छ तो चाहिँ समयले नै बताउने छ। त्यसैबिच एउटा कुरा चाहिँ स्पष्ट छ "जुनै जोगी आएपनि कान चै चिरेको" उखान गोर्खाहरुमा हालसम्म प्रमाणित भइरहेको छ। आगामी दिनमा जनप्रतिनिधिहरुको र सामाजिक जातिय संस्थाहरुको के कस्तो भुमिका हुने छ त्यस पछि मात्रै थाहा लाग्नेछ घर विभिषणले गर्दा जात डुबेको होकी कान चिरिएको जोगीको कृपाले गर्दा हो।
Post a Comment