Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

भारतीय गोर्खा परिसंघका बलियो खाँबो सुखमान मोक्तान को निधनले गोर्खा जातिले एक अमूल्य रत्न गुमाएकोछ।


 

न्युज डेस्क, ११ मई, २०२१: 

 भारतीय गोर्खा परिसंघका बलियो खाँबो,  जातीय उत्थानको निम्ति मरिमेटने समाजसेवक, बिचारक, साहित्यकार सर्जक, भाषाविद् भागोप राष्ट्रिय अध्यक्ष  सुखमान मोक्तान को निधनले गोर्खा जातिले एक अमूल्य रत्न गुमाएकोछ।


अग्रणी जातीयसचेतक सुखमन मोक्तानको निधन 

 पछिल्ला चार दशकदेखि अराजनीतिक रूपमा भारतीय गोर्खा समाजलाई नेतृत्व गरिरहेका अग्रणी जातीयसचेतक सुखमन मोक्तानको निधन भएको छ। आज बिहान 10.30 बजे पश्चिम डुवर्सको ओदलाबारी ब्लक अस्पतालमा उनले अन्तिम श्वास लिए। 71 वर्षीय मोक्तान गत दुई महिनादेखि जण्डीस र लिबरको समस्याबाट आक्रान्त थिए। अचानक लिबरमा समस्या देखिएपछि अप्रेलको पहिलो साता उनलाई हैदराबाद लगेर सघन चिकित्सा गरिएको थियो। उनले आफूपछि पत्नी, दुई छोरा-बुहारीहरू, एक छोरी-ज्वाइँ र नाता-नातिनीहरू छोडिगएका छन्। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार, उनको अन्तिम संस्कार भोलि दिउँसो पैतृक गाउँ बाग्राकोटमै गरिनेछ। पेशाले उनी प्राथमिक पाठशालाका शिक्षक थिए र 2010 मा सेवानिवृत्त भएका थिए। 

पिता माइला मोक्तान र माता माइली मोक्ताननीको कोखमा 6 अक्टोबर, 1950 मा बाग्राकोटमा उनले जन्म लिएका थिए। सत्तरको दशकमा डुवर्सको साहित्यिक-भाषिक-सांस्कृतिक एवं जातीय जागरणका मूल उद्देश्यबाट स्थापित डुवर्सको माउ संस्था डुवर्स नेपाली साहिृत्य विकास समितिका उनी संस्थापक सदस्य तथा पूर्व अध्यक्ष थिए। भारतीय गोर्खा समाजका एक अग्रणी जातीयसचेतक, सामाजिक अभियन्ता, राजनीतिक सचेतक, ट्रेड युनियनिस्ट, कुशल वक्ता तथा डुवर्सका एक अभिभावकका रूपमा उनको परिचय स्थापित छ। सत्तर तथा अस्सीका दशकमा उनले थुप्रै कविताहरू लेखेर विभिन्न पत्र-पत्रिकामा प्रकाशित गरेका थिए। उनले 'शिरीष', 'युगास्था' जस्ता पत्रिकाको पनि सम्पादन गरेका थिए। डुवर्सेली गोर्खा समाजका हरेक उत्थानमूलक कार्यमा उनको दीर्घ मार्गदर्शन रहँदै आएको थियो। उनी 2016 देखि 2019 सम्म अनि 2019 देखि 2022 सम्म भारतीय गोर्खा परिसंघमा दुई कार्यकालका लागि राष्टिय अध्यक्ष रहेका थिए। अध्यक्षको रूपमा उनको दोस्रो कार्यकाल जनवरी, 2022 सम्म रहेको थियो। डुवर्सको अर्को प्रतिष्ठित साहित्यिक संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका पनि उनी संस्थापकमध्ये एक र वर्तमानमा अध्यक्ष पदमा आसिन थिए। 'डुवर्सश्री' सम्मानले सम्मानित उनी डुवर्सका पर्यायजस्तै थिए। बद्रीनारायण प्रधानपछि डुवर्सले आफ्ना सबैभन्दा ठूला हस्ती गुमाएको छ। भारतीय गोर्खाहरूका राष्ट्रिय चिन्हारी, गोर्खाल्याण्ड राज्यको माग,भाषा-संस्कृतिको विकास अनि देशका विभिन्न भागका गोर्खाहरूका मुद्दा र सुरक्षाका विषयमा भागोपले देशका सबै स्तरका नेताहरूलाई भेट्ने अभियान नै चलाएको थियो, जहाँ उनले आफ्ना टोलीका साथमा देशका 20 भन्दा अधिक मुख्यमन्त्री अनि केन्द्रिय मन्त्रीगण र नेताहरूसँग भेट गरी ज्ञापन चढाएका थिए। गोर्खाहरूका समस्या समाधान हेतु उनले देशका प्रधानमन्त्रीहरू मोरारजी देसाई, इन्दिरा गान्धी, मनमोहन सिंह अनि राष्ट्रपतिहरू प्रतिभा देवी पाटिल र प्रणव मुखर्जीसँग पनि भेट गरेका थिए।
 भारतीय गोर्खाहरूलाई राष्ट्रिय स्तरमा नेतृत्व गर्ने उनी डुवर्सका पहिलो सङ्गठक हुन्। 1986 को चर्चित गोर्खाल्याण्ड आन्दोलनकालमा उनी डुवर्सबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)--को नेतृत्वमा थिए। तर सुवास घिसिङसँग डुवर्स सम्बन्धी निर्णायक क्षणमा विमति भएपछि उनले पार्टी छोडेका थिए। उनी प्रान्त परिषद्, भाषा आन्दोलन, गोर्खाल्याण्ड संयुक्त मोर्चा, गोर्खाल्याण्ड टास्क फोर्स, एनजीसी, डुवर्स जनसंघर्ष मोर्चा जस्ता जातीय राजनीतिक चेत भएका सङ्गठनहरूमा नेतृत्वदायी भूमिकामा थिए। उनी क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का पनि पूर्व केन्द्रिय सदस्य रहेका थिए। 2016 मा गठित चिया बगान संग्राम समितिका उनी मूल संयोजक थिए। 
मोक्तानको मृत्युको खबरले राष्ट्रिय स्तरमै गोर्खा समाज शोकित बनेको छ। भारतीय गोर्खा परिसंघका कार्यकारी अध्यक्ष डा. मुनिष तामाङले नयाँ दिल्लीबाट भने, "मोक्तानजीले सधैँ भन्ने गर्दथेँ-'भारतीय गोर्खा परिसंघ भारतीय गोर्खाहरूका 'गोवर्धन पर्वत' हो।' साँच्चै उनको व्यक्तित्व नै गोवर्धन पर्वतजस्तो थियो। उनी परिसंघका संस्थापक सदस्यमध्ये एक थिए। संस्थापकहरूमा पनि कति छोडिए, कति सङ्गठनमा छैनन्, तर उनले निरन्तर 20 वर्ष परिसंघलाई नेतृत्वदायी भूमिका प्रदान गरे। उनको निधनले भारतीय गोर्खा समाज शोकित छ।" डुवर्सका एक अग्रणी अभिभावकको मृत्युमा सम्पूर्ण डुवर्स शोकित बनेको छ। असमयमै आफ्ना अध्यक्ष गुमाउन परेकोमा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले गहिरो शोक प्रकट गरेको छ। प्रतिष्ठानका महासचिव रूपेश शर्माले भने,"सुखमन मोक्तानजस्ता अग्रणी जातीय सचेतक गुमाउन परेको क्षतिको तत्काल भरपाइ हुन सम्भव छैन। उनको निधनमा हामी मर्माहत छौँ। दु:खको यस घडीमा हामी परिवारका साथमा छौँ।" यसैगरी, आफ्ना पूर्व अध्यक्षको मृत्युप्रति डुवर्स नेपाली साहित्य विकास समितिले पनि गहिरो शोक जताएको छ। संस्थाका महासचिव रविन खवासले मोक्तानको निधनलाई अपूरणीय क्षति बताए। "हामी यसबेला अभिभावकविहीन भएका छौँ। डुवर्स यो पीडाबाट उभ्रन समय लाग्नेछ", खवासले भने। 
मोक्तानको निधनमा चिया बगान संग्राम समितिले पनि गहिरो शोक प्रकट गरेको छ। समितिका संयोजक समिक चक्रवर्तीले कोलकाताबाट भने,"यो खबर सुनेर म मर्माहत भएँ। म कोलकातामा बसिरहन सकिन। मेरा प्रिय सुखमन दाजुको अन्तिम दर्शन गर्न आउँदैछु।"
असमका विभिन्न समाजीक संगठनहरुले पनि मोक्तानको निधनमा शोक व्यक्त गरेको छन जस क्रममा आग्सु सभापति अर्जुन छेत्री ,गोर्खा स्वायत्तशासन मांग समितिका अध्यक्ष हर्क बाहादुर छेत्री,गोर्खा उन्नयन परिषद असमका अध्यक्ष प्रेम तामाङ्ग समेत विभिन्न जन ले आफ्नो प्रकारले शोकव्यक्त गरि रहेको छन ।



Post a Comment

Previous Post Next Post