Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज असम नेपाली साहित्य सभाको ५० औं स्थापना दिवस


आज असम नेपाली साहित्य सभा –अनेसासको ५० औं स्थापना दिवस।

सन् १९७४ को आजैको दिन गुवाहाटी शहरका कतिपय महान साहित्यकार तथा साहित्यानुरागीहरुको अथक प्रयासमा जन्मिएको थियो 'नेपाली साहित्य परिषद्, असम'। यस संस्थाको स्थापनामा अहम भूमिका निर्वाह गर्ने युवा कवि अविनाश श्रेष्ठ अनि संस्थाको बागडोर समाउनेहरूमा– राधा प्रधान, पद्मश्री लीलबहादुर क्षेत्री, नव सापकोटा, प्राध्यापिका गीता उपाध्याय, पद्म ढकाल, टिकाराम उपाध्याय निर्भिक, दुर्गा घिमिरे, कर्णबहादुर छेत्री, गोपालबहादुर नेपाली, अनुराग प्रधान, हरि गजुरेल, तुलबहादुर मालेमा, दुर्गा खतिवडा, प्राध्यापक भवानीप्रसाद शर्मालगायत पिताम्बर गुरुङ, बद्री गुरागाईँ आदि धेरै साहित्यिक हस्तीहरूको नाम उल्लेख गर्नै पर्छ।

यता, कालक्रममा यस संस्थाले सन् १९९४ मा राज्यस्तरीय रूप लियो।

उता, सन् १९९३ को १९ अगस्तको दिन 'हवाइपुर नेपाली साहित्य परिषद'को आतिथ्यमा 'नेपाली साहित्य सभा, असम' (पछि असम नेपाली साहित्य सभा –अनेसास) को स्वतन्त्र रूपले जन्म भयो। यस संस्थाको बागडोर पनि डा.हर्कबहादुर छेत्री, डा.लक्ष्मी पराजुली, खड्गबहादुर छेत्री, दिलीप राउत, तुलसी काफ्ले, डम्बर दाहाल, प्राध्यापक कमल उपाध्याय, मदन थापा आदिले विभिन्न समयमा सम्भालेको देखिन्छ।

यता, सन् २०१३ को २५-२६ मईमा वर्तमान मरिगाँउको अमिलिघाटमा सम्पन्न भएको महाधिवेशनमा यी दुई संस्था 'असम नेपाली साहित्य सभा –अनेसास' नामले एकीकृत भए। यस एकीकरणलाई सफल पार्न दिल्योज्यान लाग्ने जागिरोडका नन्दलाल उपाध्यायको नाम साहित्य सभाको इतिहासमा सुनौला अक्षरले लेखिन्छ। यता, डम्बर दाहाल, हरि गजुरेल, दुर्गा खतिवडा, डा. चिन्तामणि शर्मा, रुद्र बराल र मदन थापा आदिले यो एकीकृत संस्थाको बागडोर सम्भालेको देखिन्छ।

तर, एकीकृत संस्था 'असम नेपाली साहित्य सभा –अनेसासले सन् १९७४ को ४ जानुवरीको दिनलाई नै संस्थाको 'स्थापना दिवस' मनाइरहेको छ।

यता, असम नेपाली साहित्य सभाको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्ती वर्षको केन्द्रीय कार्यक्रम अनि पहिलो साधारण परिषद यसपटक होजाईमा ४ अनि ५ जनवरी अर्थात् आज अनि भोलि दुई दिवसीय भव्य कार्यक्रमले उद्यापन गरिदैछ।

Post a Comment

Previous Post Next Post